
काठमाडौं,१४ जेठ । भोली जेठ १५ गते आगामी आबका लागि नयाँ बजेट सार्बजनिक गरिदै छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संसदको संयुक्त बैठक भोली जेठ १५ गते शुक्रबार अपरान्ह ४ः०० बजे बस्ने बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजेनै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई उपस्थित भइसक्न सूचित गर्नुभएको थियो । नेपालको संविधान ०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुतगर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।
यसैगरी प्रतिनिधिसभाको बैठक भने भोली जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आब २०८२÷८३ को आर्थिक सर्वेक्षणमा चालु आबको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको उल्लेख गर्नुभएको थियो । गत आबको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड थियो । त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको नौअर्ब ८३ करोडबाट घटेर सात अर्ब ४५ करोडमा झरेको छ । कारोबार भएका धितोपत्रको संख्या २७.२ प्रतिशत र कारोबार संख्यामा २९.८ प्रतिशतले घटेको छ ।
अघिल्लो आबको तुलनामा नेप्से सूचकांक र बजार पूजीकरणभने सकारात्मक छ । चालु आबको फागुन मसान्तमा नेप्से परिसूचक २८२० दशमलव ४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६ दशमलव ४९ विन्दुको तुलनामा बढी हो । त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पूँजीकरण अघिल्लो आबको सोही अवधीको तुलनामा ४.४२ प्रतिशतले वृद्धिभई ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको बताइएको छ ।