बोगोटा, १५ जेठ। कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरुबीचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले हिजो बिहीबार एएफपीलाई बताएका छन् । क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भन्नुभयो–विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्युभएको छ । उहाँले शवहरु थुप्रोमा छन्, तिनीहरुलाई बाहिर निकाल्न आवश्यक छ भन्नुभयो । सरकारसँग आधा शताब्दीको युद्धपछि सन् २०१६ मा फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जंगल क्षेत्र नियन्त्रणका साथै लागूऔषध ओसारपसार र अवैध उत्खननबाट प्राप्त हुने आम्दानीका लागि बिभिन्न साना छापामार समूहहरु अझैपनि प्रतिस्पर्धा गरिरहेका छन् ।

उद्धार टोलीहरु शवहरु निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहहरुको अनुमतिको पर्खाइमा छन्। नगर प्रमुखले भन्नुभयो–लडाई भेरेडा पिरिपालको बस्तीमा भएको थियो र स्थानीयले नै मृतकको संख्या प्रदान गरेका हुन् । यो रक्तपातले निवर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको असफल ‘पूर्ण शान्ति’ रणनीतिमा नयाँ झट्का सिर्जना गरेको छ । पेट्रोको उत्तराधिकारीको दौडमा अग्रसर वामपन्थी सिनेटर इभान सेपेडाले सशस्त्र समूहहरुसँग वार्ता जारीराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक कट्टर वकिल अबेलार्डो डे ला एस्प्रिलाको नेतृत्वमा उहाँका दक्षिणपन्थी प्रतिद्वन्दीहरुले विद्रोहीहरुलाई सैन्य रुपमा दबाउन आवश्यक रहेको तर्क गर्दै आएका छन् ।

पेट्रोको सरकारले हालैका महिनाहरुमा छापामारविरुद्ध आक्रमण बढाएको छ।रक्षामन्त्री पेड्रो सान्चेजले बिहीबार ब्लू रेडियोलाई भन्नुभयो–क्रान्तिकारी बयानबाजीको समर्थन गरे पनि, फार्क असन्तुष्टहरुको ‘आपराधिक अर्थव्यवस्था अर्थात् लागूऔषध तस्करीबाट बाँच्ने एकमात्र उद्देश्य रहेको देखिन्छ । उहाँले मौसमको अवस्थाले यस क्षेत्रमा हवाई मार्गबाट सेना तैनाथगर्न असम्भव बनाएको छ तर उनीहरु स्थलमार्गबाट अघि बढिरहेका छन् भन्नुभयो । गुभियार छापामार समूहहरुको ऐतिहासिक गढहरुमध्ये एक हो । सैन्य स्रोतले एएफपीलाई बताएअनुसार भिडन्त गत सोमबारदेखि शुरुभएको थियो तर यो अहिले चलिरहेको छकि छैनभन्ने बारेमा पुष्टि हुनसकेको छैन । रासस, एएफपी