काठमाडौं,१६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशितगरी नेपाली जनताले जनतान्त्रिक अधिकार र नागरिसक स्वतन्त्रका लागि पटक, पटक चलाएका संयुक्त आन्दोलन र बिशेषगरी ०६२÷ ६३ मा माओवादी जनयुद्ध र सात राजनीतिक दलहरुको जनआन्दोलनलाई समायोजन गरी चलाईएकोे १९ दिने ऐतिहासिक बृहत संयुक्त जनआन्दोलनको भूमिका गणतन्त्र स्थापनागर्न निर्णायक रहेको कुरा नेपाली जन आन्दोलनको इतिहासमा बिशेषरुपले स्मरणीय रहेको बताउनु भएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ–नेपाली जनताका असल छोराछोरीहरुको अदम्य साहस, लामो संघर्ष, त्याग र उच्च बलिदानबाट प्राप्त यो गणतन्त्र दिवसको १९ औं बार्षिकोत्सवको ऐतिहासिक अवसरमा सर्बप्रथमा नेपाल कम्युनिष्ट पार्टी ती सबै आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक स्मरणकासाथ उच्च सम्मान प्रकट गर्दछ । साथै सम्पूर्ण बेपत्ता योद्धाहरु र घाइते–अपांगहरु र सम्पूर्ण रुपले समर्पित इमान्दार क्रान्तिकारी गणतन्त्रवादी नेता, कार्यकर्ता, योद्धा र जनताप्रति पनि नेपाल कम्युनिष्ट पार्टी ससम्मान हार्दिक बधाईसहित क्रान्तिकारी अभिवादन ज्ञापन गर्दछ ।

जनताको यो लामो र भीषण संघर्षबाट प्राप्त गणतन्त्रलाई यसका गरिमामय मूल्य, मान्यता र महत्वकासाथ देश र जनताको पक्षमा संचालन गरी राष्ट्रलाई सबल, सक्षम र समुन्नत तुल्याउनुपर्ने थियो । तर सत्ताधारी र संसदवादीहरुले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको समय सापेक्षरुपमा अधिकतम प्रयोग गर्नुको साटो चरम दुरुपयोग गरेर गणतन्त्रलाई जनगणतन्त्रतिर होइन दलतन्त्र, नेतातन्त्र र लूटतन्त्रमा परिणत गर्दै देशमा अजंगका भ्रष्टाचार, मानब तस्करी, कालो बजारी र ठगी काण्डहरु मच्चाए जो आज एउटा ठूलो विडम्बनाहुन पुगेको छ । यसले एकातिर जनतामा अन्यौल, आशंका, अविश्वास, असंतुष्टी र आक्रोशको स्थिति पैदाभएर साम्राज्यबाद परस्त प्रतिगामी सामन्ती दलाल पूजीवादी शक्तिहरु फणा उठाइरहेका छन् भने अर्कातिर बिदेशी साम्राज्यवादी तथा क्षेत्रीय हैकमबादी हस्तक्षेपलाई निम्त्याउनाले देशको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, शान्ति–समृद्धि अपूर्ब चक्रब्यूहमापरेर वैदेशिक शक्तिकेन्द्रहरुको बफर स्टेट र युद्ध अखडा बनाउने ग्रान्ड डिजाइन कार्यान्वयन भैरहेको प्र्रतीत हुन्छ ! यस सर्वाधिक भयावह स्थितिमा विस्थापित र स्थापित पुराना र नयाँखाले प्रतिगमन र साम्राज्यवाद परस्त शक्तिहरुले जनताको अपूर्व त्याग, बलिदानपूर्ण आन्दोलनबाट प्राप्त सीमित जनअधिकार र राजनीतिक स्वतन्त्रता पनि खोस्न थालेको चिन्ताजनक अवस्था छ ।

तसर्थ यसबाट देश र जनतालाई जोगाउन गणतन्त्रको लागि लडेका सम्पूर्ण शक्तिहरु तथा अग्रगामी चिन्तन र चरित्रभएका सबै साम्राज्यबाद बिरोधी देशभक्त शक्तिहरुलगायत आम जनसमुदायलाई जनअधिकार, राजनीतिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको लागि एकताबद्ध हुन र साम्राज्यवाद, यथास्थितिवाद र प्रतिगमनका विरुद्धको एउटा अर्को निर्णायक जनान्दोलनमा दृढतापूर्वक खडा हुन सर्बोपरी आबश्यकता छ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी पुनः औंल्याउँदछ र त्यसको निम्ति अघिबढ्न सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ । उहाँले बक्तब्यमा गणतन्त्र स्थापना भएयताको अबधिमा सत्ताधारीहरुले सत्ता र शक्तिको दुरुपयोगद्वारा गरेगराइएका भयावह भ्रष्टाचार, मानव तस्करी, सहकारी ठगी तथा जेनजी आन्दोलनको आडमागरिएको उपद्रब पछि अन्तरिम र नयाँ सरकारले गरेको ट्रेड यूनियन अधिकारको हनन, सुकुम्बासीहरुको उठिबास र साम्राज्यवादीहरुको दलाली र गुलामीजस्ता सरकारी र गैरसरकारी संगठित र संस्थागत अपराधहरुका कारण आम जनसमुदायको दैनिक जीवनयापन अत्यधिक कष्टकर र दुरुह बनिरहेको छ ।

संगसंगै राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतानै दाउमा लगाइएको छ । फलतः गणतन्त्रलाई देश र जनताको निम्ति आशा र भरोसाको केन्द्र बनाइनुको साटो उठिबास र रुवाबासको संयन्त्र बनाइएको छ । यस्तो अबाञ्छित अवस्थामा गणतन्त्रको एकोहोरो महिमागान निरर्थक र अस्वीकार्य बन्न जान्छ । त्यसैले सम्पूर्ण गणतन्त्रप्रेमीहरु राष्ट्र र जनताको वास्तविक हित हुने स्वाधीन राष्ट्रिय विकल्पकारुपमा उन्नत गणतन्त्रलाई लक्ष बनाई एकताबद्ध भएर देश, जनता र जनअधिकारको रक्षाका लागि संघर्षमा उत्रनुको विकल्प छैन भन्नुभएको छ ।