बेइजिङ, १९ जेठ । चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । गत आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो । चिनियाँ समयअनुसार बिहान २ बजेर ७ मिनेटमा वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक स्थापित भएको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ । प्रक्षेपण प्रक्रिया पूर्णरुपमा सफल रहेको र उपग्रहले आफ्नो प्रारम्भिक कार्य सञ्चालन शुरु गरिसकेको बताइएको छ । अधिकारीहरुकाअनुसार यो उपग्रह मुख्य रुपमा प्रत्यक्ष मोबाइल–उपग्रह ब्रडब्यान्ड जडान प्रविधिको परीक्षण तथा प्रमाणीकरणका लागि प्रयोग गरिनेछ । यस प्रविधिमार्फत भविष्यमा सामान्य मोबाइल फोन प्रयोगकर्ताले पृथ्वीका दुर्गम क्षेत्रहरुमा समेत उपग्रहमार्फत प्रत्यक्ष इन्टरनेट तथा सञ्चार सेवा प्राप्तगर्न सक्ने अपेक्षा गरिएको छ । उपग्रहले अन्तरिक्ष र भू–भागबीच एकीकृत सञ्चार सञ्जाल निर्माणसम्बन्धी विभिन्न प्रविधिको पनि परीक्षण गर्नेछ ।
यसले भविष्यमा अझ प्रभावकारी, स्थिर तथा फराकिलो पहुँच भएको सञ्चार पूर्वाधार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषज्ञहरुका अनुसार प्रत्यक्ष मोबाइल–उपग्रह जडान प्रविधि विकास भएसँगै हिमाली क्षेत्र, मरुभूमि, समुद्री क्षेत्र तथा प्राकृतिक विपद्का समयमा समेत सञ्चार सेवा उपलब्ध गराउन सहज हुनेछ । यस्तो प्रविधिले परम्परागत भू–आधारित सञ्चार संरचनामा निर्भरता कम गर्दै आपत्कालीन अवस्थामा भरपर्दो सञ्चार माध्यम उपलब्ध गराउन मद्दत पु¥याउनेछ । यस प्रक्षेपणसँगै चीनको वाहक रकेट शृंखलाले ६४६ औँ उडान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यो उपलब्धिले चीनको अन्तरिक्ष कार्यक्रम निरन्तर विस्तार भइरहेको र देशले अन्तरिक्ष प्रविधि तथा उपग्रह सञ्चार क्षेत्रमा आफ्नो क्षमता मजबुत बनाउँदै लगेको संकेत गरेको छ । हाल विश्वका विभिन्न मुलुक तथा प्रविधि कम्पनीहरु उपग्रहमार्फत उच्चगतिको इन्टरनेट सेवा विस्तारगर्ने प्रतिस्पर्धामा रहेका छन् ।
चीनले पनि यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन नयाँ परीक्षण तथा अनुसन्धान कार्यक्रमहरुलाई तीव्रता दिइरहेको छ । विशेषज्ञहरुले यो प्रक्षेपणलाई चीनको भविष्यको उपग्रह–आधारित इन्टरनेट तथा सञ्चार सेवाको विकासतर्फको अर्को महत्वपूर्ण कदमकारुपमा मूल्यांकन गरेका छन् । रासस, सिन्ह्वा