
काठमाडौं,१९ जेठ । नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार भैसकेको खुलाशा भएको छ । अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारकारुपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ । हिजो काठमाडौंमा सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीकारुपमा उल्लेखगर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । गतवर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारीदिँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रुपमा चित्रण गर्नुभएको थियो । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उहाँले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दैजाँदा अमेरिकी कम्पनीहरु नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुुभएको थियो ।
उहाँले नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि तथा साझा समृद्धिलाई सहयोगगर्न नेपाल सरकार र नेपाली जनतासँगको साझेदारी अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको बताउनुभएको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटगरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारलगायत विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभएको थियो ।
गत आइतबार काठमाडौंमा भएको ‘एसेन्ट समिट’ मा मुख्य वक्ताका रुपमा आफ्ना विचार प्रस्तुतगर्न पाउँदा आफ्ना लागि अवसरमा भएको बताउँदै उहाँले उक्त कार्यक्रममा नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरुले हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे छलफल भएको जानकारी दिनुभयो । उपविदेशमन्त्री रोजर्सले पाटन दरबार क्षेत्रको भ्रमण गरेर त्यहाँ रहेका सम्पदाको अभिरुचिपूर्वक अवलोकन पनि गर्नुभएको थियो ।