
काठमाडौं,२१ जेठ । राजावादी भनिएको राप्रपा बिरुद्ध नयाँ राष्ट्रवादी शक्ति निर्माणगर्ने तयारी थालिएको थाहाभएको छ । राप्रपा परित्याग गर्नुभएका डा. धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अगाडि बढाउनुभएको हो । राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लाग्नुभएका राणाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पार्टीमै फर्कन र महाधिवेशनमा जुट्न गरेको सार्वजनिक आह्वानलाई भ्रम र शब्दजालको संज्ञादिँदै अस्वीकार गर्नुभएको छ । हिजो एक विज्ञप्ति जारीगर्दै राणाले राप्रपाको केन्द्रीय समितिले आफ्नो वैधानिक हैसियतसमेत गुमाइसकेको दाबी गर्नुभएको थियो । विगत लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आउनुभएका राणाले राप्रपाको वैधानिक म्याद समाप्त भइसकेकाले अब पुरानो बाटोबाट अगाडि बढ्न नसकिने बताउनुभएको छ । राप्रपाले ०७८ सालमा एकता महाधिवेशन सम्पन्नगरेको थियो ।
पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल चारवर्षको रहने व्यवस्था छ । विशेष परिस्थिति उत्पन्न भएमा विधानकै परिधिभित्र रहेर एकबर्षसम्म कार्यकाल थपगर्न सकिन्छ । सोहीअनुसार गत मंसिरमा केन्द्रीय समितिको म्याद छमहिनाका लागि थपिएको थियो । राणाकाअनुसार सो थपिएको अतिरिक्त छमहिनाको समयावधि पनि गत १९ गते पूराभएको थियो । निर्धारित समयभित्र महाधिवेशनगर्न नसकेको र थपिएको अवधिसमेत गुज्रिसकेकाले राप्रपाले पूर्णरुपमा वैधानिकता गुमाइसकेको उहाँको भनाई छ ।
संगठनात्मक संकट टार्न र समयमै महाधिवेशन सम्पन्नगर्नका लागि एकबर्ष पहिलेनै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन गरिएको थियो। सो समितिमा राणा आफैं पनि सदस्यकारुपमा रहनुभएको थियो । उक्त समितिले मुलुकको आम निर्वाचनलाई मध्यनजरगर्दै निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा जेठ महिनाभित्रै जसरी पनि महाधिवेशन सम्पन्नगर्न कार्यसम्पादन र केन्द्रीय समितिलाई लिखित सुझाव दिएको भनिएको थियो ।