काठमाडौं,२१ जेठ । पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराईले स्थापना गर्नुभएको प्रगतिशील लोकतान्त्रिक पार्टीको हालै बसेको सचिवालयको विस्तारित बैठकले पार्टीका पूर्व संरक्षक डा. बाबुराम भट्टराईका सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ । पार्टी नेतृत्वमाथि अराजनीतिक एवं स्तरहीन टिप्पणी गरेको ठहरगर्दै गत १६ र १७ गते बसेको सचिवालयको विस्तारित बैठकले खेद प्रस्ताव पारित गरेको हो । स्वेच्छाले पार्टी छाड्नु भएको भनिएका डा.भट्टराईले नेतृत्वमाथि आधारहीन आरोप लगाएको बैठकको निचोड छ ।

तत्कालीन माओवादी केन्दै छोड्नुभएका जनार्दन शर्मा, रास्वपा त्यागेका सन्तोष परियार र नेसपा (नयाँ शक्ति) को नेतृत्व गरेका बाबुरामले प्रलोपा घोषणा गर्नुभएको थियो । गत फागुन २१ को निर्वाचनमा देशभर एक सिट पनि जित्न नसकेको उक्त पार्टीमा केही समययता आन्तरिक किचलो उत्कर्षमा पुगेको छ ।

चुनावी पराजयसँगै अध्यक्ष परिषद्का सदस्य सुदन किराती, दुर्गा सोव र ओजस्वी भट्टराईले जिम्मेवारी छाडेपछि परियार एकल अध्यक्ष चुनिनुभएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै डा. भट्टराईले किर्ते र ठगीको संज्ञा दिनुभएको थियो । सो पार्टीमा बामपन्थी र गैह्रबामपन्थीका बीचमा चर्को बिवाद रहेको बताइन्छ ।