
काठमाडौं,२१ जेठ । राष्ट्रिय क्रान्तिकारी मोर्चाका अध्यक्ष सन्तबहादुर नेपालीले एक बक्तब्य प्रकाशितगरी प्रधानमन्त्री वालेन्द्र साहको सीमा सम्बन्धी अभिव्यक्ति षडयन्त्रपूर्ण भएकोभन्दै निन्दा र भत्र्सना गर्नुभएको छ । उहाँले बक्तव्यमा प्रधानमन्त्री वालेन्द्र साहले गत १७ गते संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेक्रममा नेपालले पनि धेरैठाउँमा भारतको जमिन मिचेको छभनी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको ध्यान आकर्षण भएको छ । नेपालले सीमा क्षेत्रमा भारतको जमिन मिचेको छ भनेर अहिलेसम्मका सर्वेक्षण, अध्ययन तथा वस्तुगत आधारबाट कही कतै पुष्टिभएको छैन । बरु सीमा क्षेत्रमा दश गजाहरु हटाउने र सार्ने काम भारतीय एसएसवीले कैयौं पटक गरेको समाचारहरु आइरहेका छन् ।
सीमाको रक्षागर्नेक्रममा कञ्चनपुर तथा सप्तरीमा त्यहाँका निर्दोष नागरिकले ज्यान गुमाउनु परेको जगजाहेर छ भन्नुभएको छ । बक्तब्यमा सरकारको प्रमुख स्थानमा बसेको व्यक्तिले यसरी संसदको रोष्टममा उभिएर राष्ट्रघाती अभिव्यक्ति दिनु लज्जास्पद र सार्वभौमिकता विरुद्धको कुरा हो । यसप्रकारको अभिव्यक्तिले भारतीय विस्तारवादी उद्देश्यलाई मद्दत पुयाएको छ । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वाभिमानसँग गाँसिएका गम्भीर र संवेदनशील विषयमा यसरी आधारहीन र कपोलकल्पित कुरागर्नु राष्ट्र र जनताको ठूलो अपमान होसाथै गम्भीर सन्देहको कुरा पनि हो भनिएको छ ।