काठमाडौं,२२ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बिद्युत उत्पादनमा निजी क्षेत्रले १३ खर्ब १० अर्ब लगानी गरिसकेका जनाउनुभएको छ । इप्पानले आयोजना गरेको बजेटपछिको समीक्षा र विगत तीन वर्षमा भएका कामबारे समीक्षा कार्यक्रममा उहाँले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको बताउनुभयो । उहाँले हाल नेपालमा उत्पादित कुल चार हजार २०० मेगावाट बिद्युत जडित क्षमतामध्ये तीन हजार ५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ भन्नुभयो । अध्यक्ष कार्कीले निजी क्षेत्रले हालसम्म गरेको १३ खर्ब १० अर्ब लगानीमध्ये बैंक तथा वित्तिय संस्थाको आठ खर्ब ७० अर्ब र निजी क्षेत्रको चार खर्ब ४० अर्ब रहेको जानकारी दिनुभयो । उहाँले जलबिद्युत क्षेत्रले हाल तीन लाखभन्दा बढीलाई रोजगारी दिनुका साथै वार्षिक २५ अर्बभन्दा बढी राजस्वमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
अध्यक्ष कार्कीले सरकारले १० वर्षमा ३० हजार मेगावाट बिद्युत उत्पादनगर्ने लक्ष्य राखेपनि बजेटमा ठूला आयोजनाको विद्युत खरिद सम्झौता (पिपीए) बारे स्पष्टता नहुँदा लगानीकर्ता निराश भएका बताउनुभयो । इप्पानले मुख्यगरी ५० वर्षको अनुमतिपत्र अवधि, निजी क्षेत्रलाई बिद्युत व्यापार र प्रसारण लाइनमा सहभागिता, वन तथा वातावरणीय झन्झटको अन्त्य र एकद्वार प्रणाली लागूगर्न माग गरेको छ । अध्यक्ष कार्कीले विगत तीन वर्षमा हामीले पावर समिट र हाइड्रोएक्स्पो जस्ता सफल कार्यक्रम गर्यौँ, तर नीतिगत तहमा अझै धेरै काम बाँकी छन् ।
आठवटा मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म ऊर्जा क्षेत्रको दु्रत विकास सम्भव छैन भन्नुभयो । इप्पानले बाढी प्रभावित आयोजनालाई राहत, जलबिद्युत आयोजनामा सुरक्षाको ग्यारेन्टी र कर छुटका विषयमा सरकारले सहजीकरण गर्नुपर्ने बताएको छ । रासस