
काठमाडौं,२२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणामा आज जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । भ्रमणकाक्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।
उच्चस्तरीय भ्रमणको नियमित आदान–प्रदानको एक हिस्साकारुपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोगगर्ने विश्वास लिइएको परराष्ट्र मन्त्रालयको भनाई छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यसैबीच भारत भ्रमणमा रहनुभएका रास्वपाका सभापति रवि लामिछानेले भारतीय नेताहरुसँग भएको छलफलबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएशिया हेर्ने विशेष दूत सर्जियो गोरलाई जानकारी गराउनुभएको थाहाभएको छ ।
हिजो बिहीबार साँझ लामिछाने र गोरबीच दिल्लीमा बिशेष भेटवार्ता भएको थियो । भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भनिएको छ ।