काठमाडौं,२२ जेठ । बिभिन्न सडक आयोजनाको ठेक्का तोड्नेक्रम जारी रहेको छ । यसैक्रममा निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीकाअनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको छ । उहाँले कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया शुरुगरेका थियौँ । दश वटाले अहिले धमाधम काम गरिरहेका छन् असार मसान्तमा काम सम्पन्न नगरिए ती ठेक्का अन्त्य गरिनेछ भन्नुभएको छ ।

सो कार्यालयकाअनुसार आव ०७८÷७९ देखि शुरुभएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून देखिएपछि यस्तो कदम चालिएको हो । ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दैआएपछि स्थानीयवासीले चर्को गुनासो गर्दै आएका थिए । केही सडकमा त प्रारम्भिक काम सम्पन्न नगरी वर्षौंदेखि अलपत्र छाडिएको अवस्था छ । कार्यालयका अनुसार एसएन निर्माणका चार, नागार्जुनको चार, राधाभानुका दुई, गणपतिका चार तथा आरपी कन्स्ट्रक्सनको एक वटा ठेक्का तोडिएको हो ।

ठेक्का रद्ध गरिएका निर्माण व्यसायीबाट सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्य सम्पादन जमानत, धरौटीबापतको रकम पेस्की जफत गरिने कार्यालयले जनाएको छ । कार्यालयले ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारकगर्न समय दिएको छ । ठेक्का तोडिने सूचीमा ग्रामीण भेगका अधिकांश सडक परेका छन् ।