काठमाडौं,२२ जेठ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई फिर्ता बुझाउनुभएको थाहा भएको छ । संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्रमन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्रसचिव अमृतबहादुर राईलाई दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ । केही सञ्चार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेकोजस्तो सन्देश जानेगरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्तगर्दै उक्त प्रतिवेदन राखेको दराजको साँचोमात्रै बुझेको जनाएको छ ।
नेपाल र भारतबीचका समस्याका बारेमा अध्ययनगरी समाधानका उपाय खोज्न संयुक्तरुपमा प्रबुद्ध व्यक्तिहरुको समूह गठन गरिएको थियो । सन् २०१६ मा नेपाल र भारतले उक्त समूह गठनगरी दुईवर्षसम्म अध्ययनगरी समूहले प्रतिवेदन तयारगरेको थियो । उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि हालसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन् ।