काठमाडौं,२२ जेठ । निर्वाचन आयोगले संविधान संशोधनका लागि २१ बुँदे सुझाव दिएको थाहा भएको छ । जसमा फेरी प्रतिनिधिसभा सदस्यको संख्या १०५ गराउने सुझाव रहेको छ । आयोगले सरकारी कार्यदललाई उक्त सुझाव पठाएको हो । कार्यदलले आयोगसँग सुझाव माग गरेको थियो । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद संविधान संशोधनका लागि सुझाव पठाएको समाचारदाताहरुलाई जानकारी दिनुभएको हो । आयोगले निर्वाचनका सन्दर्भमा व्यापक हेरफेरगर्न सुझाएको बताइन्छ । जसअनुसार आयोगले राष्ट्रियसभाको अध्यक्षलाईनै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिनुपर्ने सुझाव पनि दिएको छ ।

राष्ट्रियसभाको गरिमा र निष्पक्षता कायमगर्दै कार्यपालिका र संसदबीचको समन्वय प्रभावकारी बनाउन राष्ट्रियसभा अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने सुझाव आयोगको छ । त्यसैगरी आयोगले २१ वर्षमै प्रतिनिधिसभाको निर्वाचन लड्न पाउनुपर्ने व्यवस्थागर्न सुझाएको बताइन्छ । राष्ट्रियसभाका लागि ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्थागर्न आयोगले सुझाव दिएको छ । आयोगले सांसदको संख्या घटाउन सुझाएको छ । आयोगले प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्षतर्फ ७७ जनाको व्यवस्थागर्न सुझाव दिएको थाहा भएको छ । त्यस्तै समानुपातिकतर्फ २८ सदस्यमात्रै राख्नुपर्ने प्रस्ताव आयोगको छ ।

यसोगर्दा प्रतिनिधिसभामा १०५ सदस्य हुनेछन् । संविधानको धारा ८४ मा प्रत्यक्षतर्फ १६५ र समानुपातिकर्फ ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा गठन हुने व्यवस्था छ । आयोगले त्यसलाई संशोधनगर्न सुझाएको हो । त्यस्तै राष्ट्रियसभा ३० सदस्यीय बनाउनुपर्ने आयोगको सुझाव छ । हाल राष्ट्रियसभा ५९ सदस्यीय छ । त्यस्तै प्रदेशमा समानुपातिक व्यवस्था हटाउनुपर्ने प्रस्ताव आयोगको छ ।