बेइजिङ, १ माघ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी हिजो बुधबार बेइजिङ पुग्नुभएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । प्रधानमन्त्री कार्नीले भोली शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्तागर्नेे बताइएको छ । कार्नी आठबर्षमा चीन भ्रमणगर्ने पहिलो क्यानेडियन नेता हुनुहुन्छ । गत अक्टोबरमा दक्षिण कोरियामा भएको एशिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो । कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गर्नुभएको थियो । सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउगरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारवाहीमा हिरासतमा लिएपछि दुई देशबीचकोसम्बन्ध चिसिएको थियो ।
हालैका वर्षहरुमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दैआएको छ । सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरुसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्वदिने बताएको थियो । रासस÷एएफपी