
काठमाडौं,३ माघ । भोलीबाट सिंह दरबारमा शुरुहुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको तयारी पूरा भएको थाहा भएको छ । संसद सचिवालय, सिंहदरबारमै अधिवेशन सञ्चालन हुने भएको छ । राष्ट्रिय सभाको १९औँ अधिवेशनको सञ्चालनका लागि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्नुभएको र अधिवेशनका प्राथमिकताका सम्बन्धमा संसदीय दलका सम्बन्धित पदाधिकारीसँग छलफल गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ । उहाँले अधिवेशनको सबै तयारी पूराभएको र आवधिक कार्यतालिकको क्यालेण्डर आज शनिबार सार्वजनिक हुने बताउनु भएको छ ।
प्रवक्ता गिरीकाअनुसार पहिलो बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाइने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा भोली माघ चारगते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो ।