ढाका, ६ माघ । बंगलादेशको एक अदालतले सन् २०२४ मा भएको एक वकिलको हत्यालाई लिएर यहाँका एक ख्यातिप्राप्त हिन्दू गुरु चिन्मय कृष्ण दासको मुद्धामा हिजो सोमबारदेखि सुनुवाई शुरुगरेको छ । दासलाई दक्षिणपूर्वी शहर चटगाउँको अदालतमा ल्याइएको थियो, जहाँ उहाँले हत्याको आरोपलाई अस्वीकार गर्नुभएको थियो । उहाँको सुनुवाईपछि कडा सुरक्षाबीच उहाँलाई पुनः हिरासतमा फिर्ता लगिएको छ । उहाँलाई हिरासतबाट सुनुवाईका लागि अदालतमा ल्याउनेक्रममा बाहिर निकाल्दा दर्जनौं वकिलहरुले उहाँविरुद्ध हत्याराभन्दै नारा लगाएका थिए । अदालतले दासको जमानत आवेदन अस्वीकार गरेपछि चर्किएको हिंसात्मक अशान्तिको क्रममा भएको यस मुद्धा सन् २०२४ नोभेम्बर २६ मा वकिल सैफुल इस्लाम अलिफको हत्यासम्बन्धी रहेको छ । अभियोजनकर्ताका वकिल मोहम्मद रैहानुल वाजेदले पत्रकारसँगको प्रतिक्रियामा भन्नुभयो–यो एक संवेदनशील मुद्धा हो जसले साम्प्रदायिक सद्भाव र राष्ट्रिय सुरक्षालाई छोएको छ ।

उहाँले दास र अन्य ३८ प्रतिवादीहरु, जो सबै प्रभावशाली भिक्षुका अनुयायीहरु हुन्, अलिफको मृत्युको लागि जिम्मेवार रहेको दावी गरे । वकिल वाजेदले अभियोजनकर्तालाई दृढ विश्वास छकि पेश गरिएका प्रमाणहरुले उनीहरुको दोष प्रमाणितगर्ने छ र न्यायको विजय हुनेछ भन्नुभयो । यो मुद्धा मुस्लिम बहुल बंगलादेशमा तनावपूर्ण धार्मिक सम्बन्धको प्रतीकका रुपमा देखा परेको छ । सन् २०२४ अगस्टमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनको अन्त्य भएपछि देशले राजनीतिक अस्थिरताको सामना गरिरहेको छ। हसिनालाई पदच्युत गरेपछि हिन्दू समुदायमाथि हुने कथित आक्रमण र भेदभावको निन्दागर्न सम्मिलितो सनातन जागरण जोटेले बिभिन्न र्यालीको आयोजना गरेको थियो । दास यस संगठनका प्रवक्ता हुनुहुन्छ । बंगलादेशमा हिन्दूहरु सबैभन्दा ठूलो धार्मिक अल्पसंख्यक समुदाय अन्तर्गत पर्दछन् । देशको लगभग १७ करोड जनसंख्याको करिब आठ प्रतिशत हिन्दु रहेको तथ्यांकबाट देखिन्छ ।

दासलाई शुरुमा सन् २०२४ नोभेम्बरमा चटगाउँमा एक र्यालीको नेतृत्व गरेपछि राजद्रोहको आरोपमा पक्राउ गरिएको थियो, जहाँ उहाँमाथि राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लगाइएको थियो। उनको हिरासत र त्यसपछि जमानत अस्वीकार गरेपछि विरोध प्रदर्शन शुरुभयो जुन हिंसामा परिणत भयो र यसै क्रममा अलिफको हत्या भएको थियो । सन् २०२४ मा भएको विद्रोहपछि मार्च १२ मा हुने पहिलो चुनावको तयारीकाक्रममा बंगलादेशमा धार्मिक बिषयका बहसहरु चर्किएका छन् । हिजो सोमबार सार्वजनिक गरिएको प्रहरीको तथ्यांकअनुसार गत वर्ष अल्पसंख्यक समूहका सदस्यसँग सम्बन्धित ६४५ घटनामध्ये करिब १२ प्रतिशतलाई साम्प्रदायिक मनसायको रुपमा वर्गीकृत गरिएको थियो । रासस, एएफपी