काठमाडौं,१० माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधनगर्न सुर्खेत पुग्नुभएका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताउनुभएको छ । उहाँले मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु भन्नुभएको थियो । विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सकेमात्र देश बन्ने दाबी गर्नुभयो ।

उहाँकाअनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोडदिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट शुरुहुने महत्वपूर्ण संस्कार भएको जिकिर गर्नुभयो । काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिनुभएको थियो । पुराना दलहरुबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायमगरी भ्रष्टाचार न्यूनीकरणगर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उहाँको भनाइ थियो ।