ढाका, १२ माघ । बंगलादेशले भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधनगर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको जनाएको छ । बंगलादेशमा गत बर्ष बिद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्षरुप लिएपछि प्रधानमन्त्रीको कार्यालयमा आक्रमणगर्न अघि बढेपछि पूर्वप्रधानमन्त्री हसिनाले निकटस्थ केही सदस्यसहित सेनाको सहयोगमा हेलिकोप्टरमार्फत् भारतमा शरण लिन पुग्नुभएको थियो । सन् २०२४ अगष्टमामा आफ्नो १५ वर्षे शासन अन्त्य गरेपछि ७८ वर्षीया हसिना छिमेकी देश भारततर्फ भाग्नुभएको थियो । उहाँले शुक्रबार खचाखच भरिएको प्रेस क्लबमा अडियो सम्बोधनगर्दै पहिलो पटक सार्वजनिक मन्तव्य दिनुभएको छ । ढाकास्थित एक अदालतले उहाँलाई नोभेम्बरमा उहाँको अनुपस्थितिमा ज्यानमार्न आदेश जारीगरेको र अत्याचार रोक्न अकर्मण्यताको सजाय सुनाएको थियो ।

ढाकाको विदेश मन्त्रालयले जारीगरेको विज्ञप्तिमा बंगलादेशले आम हत्याको लागि दोषी ठहर गरिसकेका पूर्वप्रधानमन्त्री हसिनालाई भारतीय राजधानीमा खुलेआम घृणा फैलाउने भाषणगर्न दिनु बंगलादेशका जनता र सरकारको स्पष्ट अपमान हो । यसबाट बंगलादेशको सरकार र जनता आश्चर्यचकित र स्तब्ध भएका छन् भनिएको छ । हसिनालाई भारतीय भूमिमा सम्बोधनगर्न दिनुले ‘खतरनाक नजिर’ स्थापितगर्ने र यसले ‘द्विपक्षीय सम्बन्धलाई गम्भीररुपमा बिगार्न सक्ने’ विज्ञप्तिमा उल्लेख छ । राजनीतिक उथलपुथलपछि पहिलो पटक नयाँ सरकारको नेतृत्व छान्न बंगलादेशका मतदाताले आगामी फेब्रुअरी १२ मा मतदान गर्दैछन् । हसिनाले गत शुक्रबारको आफ्नो अडियो सम्बोधनमा अन्तरिम नेता मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन अनुभव नगर्ने बताउनुभएको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनलाई प्रत्यक्षरुपमा नै एक लाखभन्दा बढी मानिसहरुले हेरेका थिए भने पछि यसलाई विभिन्न सामाजिक सञ्जालमार्फत् थप व्यापक बनाइएको थियो । बंगलादेशले हसिनालाई सुपुर्दगीगर्न भारतसँग आग्रह गरेको छ, तर नयाँ दिल्लीले भने यस अनुरोधबारे कुनै टिप्पणी गरेको छैन। हसिनालाई भारतले विगतमा गरेको समर्थनले उहाँलाई सत्ताच्युत गरिएयता दुई दक्षिण एशियाली छिमेकीहरुबीचको सम्बन्ध चिसिएको छ । रासस,एएफपी