बेइजिङ, १५ फागुन । चीनले आफ्ना विपत् व्यवस्थापन मन्त्री र एक पूर्व क्षेत्रीय पार्टी सचिवको विधायी भूमिका खोसेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनले आगामी गत बुधबारदेखि दुईसत्र भनेर चिनिने आफ्नो वार्षिक व्यवस्थापिका बैठकहरु शुरुगर्दैछ, जसमा देशभरबाट हजारौँ प्रतिनिधिहरु बेइजिङ आउँदैछन् । देशको शीर्ष व्यवस्थापिका १४औँ राष्ट्रिय जन कांग्रेस (एनपिसी) को स्थायी समितिले वाङ सियांसीलाई विपत् व्यवस्थापन मन्त्रीबाट हटाउने पक्षमा मतदान गरेको छ । समितिले लिउ शाओयुनलाई जनमुक्ति सेनाको सैन्य अदालतको प्रमुखको पदबाट हटाउने पक्षमा पनि मतदान गरेका थिए । समितिले एनपिसीबाट १९ जना प्रतिनिधिलाई पनि हटाएको सरकारी सञ्चारमाध्यमले हिजो बिहीबार जनाएका छन् । जिम्मेवारीबाट हटाइएका अधिकारीमा इनर मंगोलिया पार्टीका पूर्व सचिव सुन शाओचेङ पनि हुनुहुन्छ ।

उहाँलाई अनुशासन र कानुनको गम्भीर उल्लंघनको आरोपमा अनुसन्धानको दायरामा राखिएको बताइएको छ । हटाइएका अन्य अधिकारीमा पूर्व नौसेनाका कमान्डर शेन जिनलोङ र ग्राउन्ड फोर्सका कमान्डर ली कियाओमिङसहित नौजना सैन्य अधिकारी पनि रहेका छन् । प्रतिनिधिहरुलाई हटाउनुको कारण निर्दिष्ट गरिएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा सेनाको भ्रष्टाचार विरुद्धको लडाइँको प्रशंसा गर्नुभएको थियो ।

गत जनवरीमा चिनियाँ रक्षा मन्त्रालयले केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झाङ युक्सिया र सिएमसीको ज्वाइन्ट स्टाफ डिपार्टमेन्टका चिफ अफ स्टाफ लिउ झेन्लीमाथि अनुसन्धान गरिरहेको बताएको थियो । एक दशकभन्दा बढी समयअघि सी सत्तामा आएयता चिनियाँ कम्युनिस्ट पार्टी र राज्यका सबै तहमा भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्ने ठूलो अभियानमा लिउ र झाङ पछिल्लो पटक अलग्गिएका हुन् । हालैका वर्षहरुमा यो अभियानले सेनालाई लक्षित गरेको छ । रासस, एएफपी