
कराची १७ फागुन । पाकिस्तानको कराँचीमा अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शनहुँदा आठजनाको मृत्यु र थुप्रै घाइते भएका छन् । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आज आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरुको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्युभएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरु वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको ड्राइभवेमा प्रवेशगर्न सफल भएका थिए । यसक्रममा केही झ्यालहरु तोडिएका थिएभने सुरक्षा टोलीले अश्रु ग्यास प्रहार गरी भीड तितरबितर पार्ने प्रयास गरेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा वाणिज्य दूतावासको मुख्य भवनका झ्याल तोड्दै अमेरिकी झण्डा माथि उडिरहेको र वरिपरि काँडेदार तारले सुरक्षा घेराबन्दी गरिएको दृश्य देखाइएको छ । घटनास्थलमा एक युवा प्रदर्शनकारीले भने–हामी एकताबद्ध रहनुपर्छ, कुनैपनि शक्तिले हामीलाई रोक्न सक्दैन । अर्काले भने–हामीले कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आगो लगाउँदैछौँ, भगवानको इच्छा भए हामी आफ्ना नेताको हत्याको बदला लिन्छौँ । यद्यपि आगजनी प्रयास पूर्णरुपमा सफल भएको पुष्टि हुन सकेको छैन । यसैबीच पूर्वी सहर लाहोर र उत्तरी स्कार्दूमा पनि हजारौँ मानिसहरु सडकमा उत्रिएका छन् । राजधानी इस्लामाबादस्थित अमेरिकी दूतावास रहेको कूटनीतिक क्षेत्रमा दिउँसो थप प्रदर्शन हुने अपेक्षा गरिएको छ। देशका बिभिन्न भागमा फैलिएको आक्रोशले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।
यस घटनालाई विश्लेषकहरुले क्षेत्रीय राजनीतिक तनावसँग जोडेर हेरेका छन् । विशेषगरी इरान–अमेरिका–इजरायल सम्बन्धको पछिल्लो संघर्षपछि यस्तो प्रतिक्रियाले गम्भीर सुरक्षा चुनौती प्रस्तुत गरेको देखिन्छ । प्रदर्शन र आक्रमण प्रयासले पाकिस्तानमा विदेशी दूतावासको सुरक्षा व्यवस्थामा फेरि व्यापक सतर्कता र आपतकालीन तयारी आवश्यक भएको पुष्टि गरेको छ । रासस,एएफपी