पेरिस, २० फागुन । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि शुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरु, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरुमा आक्रमण जारीराख्दै अमेरिका र इजरायलविरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छभने विभिन्न देशहरुमा बिष्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ । हिजो मंगलबार तेहरानमा शक्तिशाली बिष्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरुले जनाएका छन्, यद्यपि के लक्ष्य थियोभन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताउनुभयो । यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिनुभयो । इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरु नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताउनुभयो । खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा बिष्फोट सुनिएको छ ।
ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्यांकीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ । तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रुपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ ।
इरान रेड क्रिसेन्टका अनुसार युद्ध शुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्ररुपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोगगर्न अनुमति नदिएकोभन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गर्नुभएको छ । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ । चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरुमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ । रासस,एएफपी