काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको बिशेष महाधिवेशन पक्षधरका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएपछि भोलीका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारीगरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिनुभएको हो । उक्त बैठक शुक्रबार दिउँसो एकबजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।
बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरेको छ ।
यसैबीच निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिनुभएको छ । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको हो । भोली बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रुपमा छलफल हुने भनिएको छ ।