पेरिस, ६ चैत । युरोपेली अन्तरिक्ष निकायले एक महिना अघि उपग्रहसँग सम्पर्क गुमाएपछि आफ्नो प्रोबा–३ मिशनको हिस्सा रहेको अन्तरिक्ष यानसँग पुनः सञ्चार स्थापित गरेको घोषणा गरेको छ । सन् २०२४ मा दुईवर्षे मिसनमा प्रक्षेपण गरिएको प्रोबा–३ ले पृथ्वीबाट ६० हजार किलोमिटर भन्दा माथि सूर्यग्रहण अनुकरण गर्न सटीक गठनमा उड्ने दुई अन्तरिक्ष यानहरु प्रयोग गर्दछ । वैज्ञानिकहरुले कोरोना भनिने सूर्यको बाहिरी वातावरणको दुर्लभ झलक पाउनका लागि यो मिसनलाई प्रयोग गरेका हुन् । एउटा स्याटेलाइटमा १.४ मिटर (पाँच फिट) को शील्ड छ, जसले सूर्यको प्रकाशलाई रोक्न चन्द्रमाको भूमिका खेल्छ, जबकि अर्कोले छायाँबाट कोरोनालाई अवलोकन गर्दछ । तर फेब्रुअरी १४ मा कोरोनाग्राफ उपकरण भएको दोस्रो अन्तरिक्ष यानमा समस्या आयो र यान हरायो । समस्यापछि अन्तरिक्ष यानले आफ्नो अभिमुखीकरण गुमायो, जसका कारण यसको सौर्य प्यानल सूर्यबाट टाढा भयो र ब्याट्रीहरु चार्ज हुन सकेनन् ।
त्यसपछि अन्तरिक्ष यान ‘सर्भाइभल मोड’मा प्रवेश गर्यो र चुपचाप अन्तरिक्षमा तैरिरहेको छ । हिजो बिहीबार राति “केही चमत्कार भयो किनकि हामी अन्तरिक्ष यानसँग पुनः जोडियौँ,” इएसएका निर्देशक जोसेफ एस्चबाकरले बिहीबार भन्नुभयो । उहाँले इएसए परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– अर्को अन्तरिक्ष यानले आफ्नो हराएको जुम्ल्याहालाई अवलोकन गर्दै पछ्याइरहेको थियो । स्पेनका इएसए टोलीलाई उद्धृतगर्दै एशबाकरले केही सूर्यको प्रकाश वास्तवमा सौर्य प्यानलमा ठोकिइरहेको पाउँदा हराएको अन्तरिक्ष यान अनियन्त्रित गतिमा खसिरहेको बताउनु भयो । उनीहरुले यो सानो मात्राको शक्ति प्रयोग गरेर सम्बन्ध पुनः स्थापित गर्ने मौका लिए र अहिले यो पुनः मिसनसँग जोडिएको छ । अन्तरिक्ष यानको सौर्य प्यानलले अहिले सूर्यको प्रकाशबाट यसलाई आफ्नो ब्याट्री चार्ज गरिरहेको छ । इएसए विशेषज्ञहरुले उपकरणहरु फेरि स्विच गर्नेछन् र कति क्षति भएको छ भनेर पत्ता लगाउन परीक्षणहरु गर्नेछन् । प्रोबा–३ मिशनका प्रबन्धक डेमियन गालानोले एक विज्ञप्तिमा कोरोनाग्राफबाट फिर्ता भएको भेटिनु अचम्मको समाचार र ठूलो राहत हो भन्नुभएको छ ।
नाङ्गो आँखा र टेलिस्कोपबाट अदृश्य सूर्यको कोरोना, जुन कैयौँ लाख किलोमिटर बाक्लो छ र अहिले पनि यसबारे थोरै ज्ञान मिलेको छ । यो सामान्यतया सूर्यबाट आउने चम्किलो प्रकाशले लुकेको हुन्छ । इएसएकाअनुसार पृथ्वीमा पूर्ण सूर्य ग्रहण केही मिनेटको लागि मात्र रहन्छ र एक शताब्दीमा लगभग ६० पटक मात्र लाग्छ । प्रोबा–३ दुई वर्षमा हप्तामा १० देखि १२ घण्टा यसको अवलोकन गर्न सफल भएको छ । रासस,एएफपी