काठमाडौं,८ चैत । नेपाली कांग्रेसको गगन थापा समूह पनि बिभाजित हुने अवस्था सिर्जना भएको छभने पार्टी एकताका लागि फेरी शेरबहादुर देउवाको खोजी हुनथालेको छ । नेपाली कांग्रेसका संस्थापन पक्षका सभापति देउवा हिजो सिंगापुरबाट हङकङ पुग्नु भएको थाहाभएको छ । सिंगापुरमा रहनुभएका देउवा नियमित उपचार सकिएपछि पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हिजो हङकङ पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । हङकङमा पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने कार्यक्रम रहेको छ । उहाँ गत फागुन १३ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । नेपाल आएपछि पार्टीको नियमित महाधिवेशन गराउन सक्रिय हुने बताइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजेबाट फेरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्नेक्रम जारी रहनेछ । यससँगै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भइरहेको छ । अधिकांश केन्द्रीय सदस्यहरुले राजीनामा स्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । एकताको पहलनै नगरी एकपक्षीय रुपमा केन्द्रीय कार्यसमिति बैठक राखेकोभन्दै देउवा पक्ष असन्तुष्ट बनेको छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्षको प्रतिनिधित्व छैन ।
त्यसैले गत शुक्रबारबाट शुरुभएको कार्यसमिति बैठकलाई उनीहरुले एकपक्षीय भन्दै बिरोध गरेका छन् । कार्यसमिति बैठकमा प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको दोष पुरानो कार्यसमितिको कार्यशैलीतर्फ औंल्याइएकामा पनि उनीहरुको आपत्ति रहेको छ । नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा स्वीकार भएमा संस्थापन पक्ष र बिशेष महाधिवेशन पक्षका बीचमा एकता हुने अन्यथा देउवा समूह नियमित महाधिवेशन गरेर अगाडि बढ्ने बताइएको छ ।