काठमाडौं,९ चैत । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशमा अब रास्वपाको नयाँ सरकार बनेपछि अबाञ्छित गतिबिधि बढ्नसक्ने आशंका ब्यक्त गर्नुभएको छ । रुपन्देहीको बुटवलमा हिजो आयोजित पत्रकार पत्रकार सम्मेलनमा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । पत्रकार सम्मेलनमा बितरित बक्तब्यमा भनिएको छ–
आदरणीय पत्रकार मित्रहरु, अतिथिहरु र सबै सहभागीहरु,
१. सर्वप्रथम नेकपा (मसाल)का तर्फबाट हामीले यो पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार मित्रहरु, अतिथिहरु तथा सहभागीहरुलाई हार्दिक अभिनन्दनगर्न चाहन्छौँ । तपाईंहरुलाई यो बताउँदा हामीलाई खुसी लागि रहेको छ कि हालै नेकपा (मसाल)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । त्यसले नेपालको आम चुनाव र तत्कालीन राजनीति परिस्थिति समेतको मूल्यांकन गरेर तत्कालीन राजनीति प्रस्ताव (सन्दर्भ चुनावको मूल्यांकन र कथित जेनजीहरुको भूमिकाको मूल्यांकन) पारित गरेको छ । त्यो प्रस्ताव पनि यहाँ तपाईंहरुका अगाडि बेग्लै प्रस्तुत गरिएको छ । त्यसबाट अहिले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीले गरेको व्याख्या र विश्लेषणबारे तपाईंहरुलाई जानकारी हुने छ ।
२. देशको अहिलेको राजनीतिक स्थितिलाई ठिकसँग बुझ्नका लागि सर्वप्रथम जेनजी तथा कथित जेनजीका बिचको अन्तरलाई हामीले ठिकसँग बुझ्नुपर्ने आवश्यकता छ । भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलन सही र न्यायपूर्ण थियो । जेनजी भन्नाले एउटा खास उमेर समूहका युवाहरु नै आउँछन् । सामान्यतः त्यसको अर्थ २८ वर्षको उमेरसम्मका युवाहरु नै आउँछन् । नेपालमा उनीहरुले चलाएको आन्दोलन भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध नै थियो, त्यसैले त्यो सही र न्यायपूर्ण पनि थियो । तर उनीहरुको त्यो आन्दोलनलाई कथित जेनजी वा गैरजेनजी तत्वहरुको हाइज्याक गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरेका थिए । यहाँ हामीले कथित जेनजी वा गैरजेनजी भनेर ती तत्वहरुलाई नै लिएका छौँ, जो २८ वर्षको उमेरभन्दामाथिका व्यक्तिहरु थिए र जो स्वयं जेनजी थिएनन् । उनीहरुले नै त्यो आन्दोलनलाई नेतृत्व गरेको दाबी गरिरहेका छन् । जेनजीको आन्दोलन स्वतःस्फुर्त थियो । तर गैरजेनजीहरुले लामो समयदेखि त्यसको लागि योजनावद्ध प्रकारले तयारी गरिरहेका थिए र जेनजीहरुको स्वतःस्फुर्त आन्दोलनलाई उनीहरुले आफ्ना निजी स्वार्थको पक्षमा उपयोगगर्न प्रयत्न गरेका थिए । त्यसमा उनीहरु सफल पनि भएका थिए । आफ्नो कुनै सिद्धान्त, राजनीतिक लाइन, संगठन वा नेतृत्वसमेत नभएको हुनाले जेनजीहरु सजिलैसित उनीहरुको प्रभावमा पर्न गए र देशमा त्यसका गम्भीर प्रकारका परिणामहरु पनि भएका छन् । त्यस प्रकारको अवान्छित परिणाम अहिले चुनावको परिणामका रुपमा अगाडि आएको छ ।
३. फागुन २१ गते आम चुनाव सम्पन्न भयो । त्यो चुनावको जुन परिणाम अगाडि आएको छ, त्यो नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवान्छित परिणाम हो । त्यो नेपालका लागि राणाशासन तथा राजाको निरंकुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रुपमा अगाडि आएको छ । राणाशासन वा राजाको निरंकुश शासन र पञ्चायती तानाशाही व्यवस्था देशभित्रका नै प्रतिक्रियावादी व्यवस्थाहरु थिए । निश्चय नै तिनीहरुमा पनि प्रतिगामी व्यवस्था थिए र तिनीहरुका विरुद्ध जनताले ठूलो संघर्र्ष गरेर तिनीहरुलाई समाप्त गर्नुपरेको थियो । अहिले पनि एक वा अर्को प्रकारले प्रतिगमनले अगाडि आउने प्रयत्न गरिरहेको छ र हामीले तिनीहरुको पुनस्र्थापनालाई रोक्न संघर्र्ष गर्नुपर्ने छ । तर अहिले चुनावको परिणाम स्वरुप देशमा जुन खतरा अगाडि आएको छ, त्यो पहिलेका सबै प्रतिक्रियावादी व्यवस्थाहरुभन्दा गम्भीर रहेको छ र त्यसका दीर्घकालीन प्रकारका दुष्परिणामहरु हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले चुनावद्वारा जुन परिणाम अगाडि आएको छ, त्यो स्पष्ट र निश्चित रुपले अमेरिकी साम्राज्यवादको नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्ने योजनाअन्तर्गत नै अगाडि आएको छ र त्यसका पछाडिको अमेरिकाको उद्देश्य नेपाल वा नेपालको भूमिलाई आफ्ना अन्तर्राष्ट्रिय उद्देश्यहरुको पक्षमा उपयोग गर्नु नै हो ।
४. अहिले नेपालमा जुन चुनाव सम्पन्न भयो त्यो नेपालको संविधान, राजनीतिक व्यवस्था वा जनताको माग अनुसार भएको चुनाव नै होइन । त्यो चुनाव अमेरिकाको नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्ने रणनीति अनुसार नै भएको हो । त्यसैको लागि संसदको विघटन गरियो र नयाँ चुनावको घोषणा गरियो । अमेरिकी साम्राज्यवादका सबै स्रोत र शक्तिको प्रयोग गरेर चुनावमा अमेरिकाद्वारा परिचालित तत्वहरुलाई विजय बनाउन पूरा प्रयत्न गरियो । त्यसैको परिणाम हो कि त्यो चुनावबाट उनीहरुको करिब दुई तिहाई बहुमत प्राप्त भएको छ । नेपालमा पहिले पनि अमेरिका परस्ततत्वहरु सरकारमा थिए । उनीहरुको त्यस प्रकारको चरित्रका कारणले नै उनीहरु एमसीसीलाई पनि संसदद्वारा पारितगर्न तयार भएका थिए । तर उनीहरुको अमेरिकापरस्त चरित्रले पनि अमेरिकी साम्राज्यवादको पूरै रणनीतिक आवश्यकतालाई पूरा गर्दैनथ्यो । उनीहरु एमसीसी स्वीकार गर्न तयार भएपनि एसपीपी पारित गर्न तयार भएका थिएनन् । उनीहरुले एक चीनको नीतिलाई अपनाएका थिए । उनीहरुको त्यो नीतिले स्वतन्त्र तिब्बत वा त्यहाँ दलाई लामाको पुनस्र्थापनासित मेल खाँदैनथ्यो । त्यसैले अमेरिकाको दृष्टिकोणमा उनीहरु अस्थिर र ढुलमुलतत्व थिए । त्यसैले उनीहरुलाई विस्थापित गर्ने नीति अपनाइयो र कथित जनजीहरुद्वारा जेनजीहरुको न्यायपूर्ण आन्दोलनलाई हाइज्याक गरेर नेपालमा आफ्नो कठपुतली सरकार कायमगर्ने नीति अपनाइयो ।
५. अहिले अमेरिकाद्वारा परिचालित जुन तत्वहरुलाई जनताको अत्यधिक समर्थन प्राप्त भएको छ, त्यो जनताको वास्तविक समर्थन होइन । त्यो वास्तवमा लोकप्रियतावादको असर हो । हामीले संसारका बिभिन्न देशहरुका उदाहरणहरुको चर्चा नगरौँ। स्वयं नेपालको कुनै राजनीतिक इतिहासको चर्चा गर्ने होभने पनि देशमा कैयौँपल्ट यस्ता अवसरहरु आउँछन्, जुनबेला जनताको चेतना कुण्ठित वा विकृत हुनपुग्दछ र त्यसबाट प्रतिक्रियावादी शक्तिहरुलाई नै मद्दत पुग्दछ । राणाकालमा पनि जनताले त्यो बेलाका शासक वर्गहरुलाई समर्थन गरेका थिए र त्यसको परिणाम स्वरुप राणाशासन १०५ वर्षसम्म टिक्न सकेको थियो । जनताको चेतना कुण्ठित वा विकृत भएको हुनाले नै निरंकुश राजतन्त्र र पञ्चायती शासन पनि ३० वर्षसम्म कायम रहन सकेको थियो । तर जब जनताको चेतना सही रुपमा प्रकट हुन्छ । त्यस प्रकारका सबै प्रतिक्रियावादी व्यवस्थाहरु ढल्दछन् । त्यसकारण जनताको समर्थनलाई हामीले कहिल्यै पनि निरपेक्षरुपमा लिनु हुँदैन । कुन बेला त्यो कुण्ठित हुन्छ वा कुन बेला त्यो जागृत हुन्छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो । अहिले पनि देशमा अमेरिकी साम्राज्यवाद वा त्यसका सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु तथा कथित जेनजीहरुको प्रभावका कारणले जनमत धेरै नै कुण्ठित हुनपुग्यो वा लोकप्रियतावाद हावी हुन पुग्यो । त्यसैको परिणाम हो कि अमेरिकाद्वारा सञ्चालित तत्वहरु वा कथित जेनजीहरु बहुमतका आउन सफल भए । त्यसका साथै पुराना राजनीतिक पार्टीहरुले देशमा बहुदले व्यवस्था आएपछि वा गणतन्त्र कायम भएपछि पनि जसरी भ्रष्ट नीतिहरु अपनाउँदै गए, देशमा कुशासन कायम भयो र देशको विकास कुण्ठित भयो । त्यो कारणले जनतामा उत्पन्न असन्तोष र निराशाले पनि लोकप्रियतावादी जनमतलाई बल पु¥यायो । जनताको त्यस प्रकारको असन्तोष वा निराशालाई सही र अग्रगामी दिशा दिन सक्ने काम हुन सकेन । त्यसको परिणामस्वरुप जनतामा देखापरेको असन्तोष र निराशालाई प्रतिगामी शक्तिहरुले उपयोग गरेर देशलाई पुनः प्रतिगमनतिर लैजाने प्रयत्न गरेका थिए । त्यसका लागि अहिले पनि प्रयत्न गरिरहेका छन् । तर त्यो दौडमा अमेरिकी साम्राज्यवाद अगाडि आयो र त्यसले नेपालमा आफ्नो कठपुतले सरकार कायम गर्न आधार तयार पार्न सफल भयो । चुनावमा राजावादीहरुको पहिलेको तुलनामा पनि संसदमा जुन ठूलो हार भयो, त्यसबाट उनीहरु ठूलो पैमानामा असफल भएको कुरा स्पष्ट छ । आफ्ना साम्राजवादी स्वार्थहरु पूरागर्न बिभिन्न देशका सरकारहरुमा फेरबदल वा उलटफेर गर्ने अमेरिकी विश्वव्यापी रणनीति रहेको छ । हालैका घटनाहरुमा त्यसले भेनेजुएला र इरानमा चालेका कदमहरु उल्लेखनीय छन् । भेनेजुएलामा आक्रमण गरेर त्यसले त्यहाँको राष्ट्रपतिलाई नै अपहरण गर्यो भने इरानमा पनि आक्रमण गरेर त्यहाँ सत्ता परिवर्तन गर्ने प्रयत्न गरिरहेको छ र आफ्नो त्यो नीतिबारे त्यसले खुला प्रकारले नै बाहिर ल्याएको छ । तर इरानी जनताको वीरतापूर्ण प्रतिरोधको नीतिका कारणले त्यहाँ त्यसको नीति सफल हुन सकेको छैन । तर नेपालमा चुनावको माध्यमद्वारा नै त्यसले आफ्नो कठपुतली सरकार कायमगर्ने नीति सफल पार्दैछ । छिट्टै नेपालमा त्यस प्रकारको सरकार कायम हुँदैछ । बताइरहनुपर्ने आवश्यकता छैन कि नेपालका लागि त्यो अत्यन्त घातक कुरा हो र त्यसका दीर्घकालीन परिणामहरु हुने सक्ने छन् ।
६. भाद्र २३ र २४ गतेका हिंसात्मक घटनाहरुको छानबिन गर्नको लागि सरकारले जाँचबुझ आयोगको गठन गरेको थियो र त्यसले आफ्नो प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ । तर त्यो प्रतिवेदन अझै सार्वजनिक भएको छैन र स्वयं जेनजीहरुले पनि त्यसलाई सार्वजनिकगर्न मागगर्दै प्रदर्शन गरिरहेका छन् । त्यो प्रतिवेदन अझै सार्वजनिक नगरेको हुनाले त्यो आयोगले कहाँसम्म निष्पक्ष, न्यायचित वा निर्भिकतापूर्वक भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन गरेको छ ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुने छ । त्यो कुरा के भएपनि भाद्र २३ र २४ गतेका घटनाहरुबारे सहित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ । प्रथमः २३ गते सामान्य र कलिला छात्रछात्रहरुमाथि जुन निर्ममतापूर्वक हत्या गरियो, त्यो अत्यन्त जघन्य र क्रूर अपराध हो । त्यो बेला विद्यार्थीहरुलाई छाती र टाउकोमासमेत ताकीताकी गोली हान्ने काम गरिएको छ । त्यस प्रकारका क्रूर, अमानवी र बर्बर अत्याचारका लागि जिम्मेवार दोषीहरुमाथि कडा र न्यायचित कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यससित जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । जिनजीहरुले आफ्नो आन्दोलन शान्तिपूर्ण भएको बताएका थिए भने त्यसले हिंसात्मक रुप लिन थालेपछि आन्दोलनकारीहरुलाई फर्केर जान पनि आÞवान गरेका थिए । त्यसरी स्पष्ट छ जेनजीहरु त्यो दिनको तोडफोड वा हिंसात्मक गतिविधिका लागि जिम्मेवार थिएनन् । त्यो अवस्थामा यो प्रश्न उठाउने ठाउँ छ ः त्यो दिनको आन्दोलनलाई तोडफोड वा हिंसात्मक कार्यका लागि उक्साउने तत्वहरु को थिए ? उनीहरुबारे पनि छानबिन गरेर उनीहरुमाथि पनि कारबाही गरिनुपर्दछ । भाद्र २४ गते देशव्यापी रुपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरु भए त्यो कार्यहरु जेनजीहरुद्वारा गरिएका थिएनन् र उनीहरुद्वारा हुन पनि सक्दैनथ्यो । त्यस प्रकारका अपराधजन्य कार्यहरुका लागि तालिम प्राप्त व्यक्तिहरुद्वारा नै हुन सक्दथे । त्यसका लागि लामो पूर्व तयारीको आवश्यकता थियो । स्पष्ट छ कि सीआइए, रअ, कथित जेनजी, राजावादीहरु र सामाजिक अपराधीहरुले नै त्यस प्रकारका ध्वन्सात्मक कार्यहरु गरेको कुरा स्पष्ट छ । के जाँचबुझ आयोगले ती सबैबारेपनि निष्पक्ष तरिकाले छानबिन गरेर तिनीहरुका विरुद्ध न्यायचित र निर्भिकतापूर्वक सिफारिस गरेको छ ? हाम्रो जोड २३ गते युवाहरुमाथिको गोली प्रहारका लागि जिम्मेवार दोषीहरु, त्यो दिनको जेन्जीहरुको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रुप दिन उक्साउने तत्वहरु र २४ गतेको तोडफोड आगलागी र ध्न्सात्मक कार्यहरुको लागि जिम्मेवार तत्वहरु समेतका विरुद्ध कडा र न्यायचित कारबाही गर्नुपर्छ भन्ने कुरामा छ ।
७. जेनजीहरुको नाममा जुन कथित जेनजीहरु अगाडि आएका छन् र अहिले सत्तामा जाने तयारी समेत भइरहेको छ । उनीहरु राजनीति व्यक्तित्वहरु नै होइनन् । राजनीतिक व्यक्तित्व, नेता वा कार्यकर्ता भन्नाले उनीहरु नै हुन्छन् जो देश र जनताको सेवाको लागि पूरै समर्पित हुन्छन् तथा त्यसका लागि सबै प्रकारका संघर्र्ष, त्याग र बलिदानगर्न पनि तयार हुन्छन् । नेपालको राजनीतिलाई भ्रष्टीकरण गर्ने काम पनि अत्यधिकरुपमा भएको छ । कैयौँ पार्टीका नेता वा कार्यकर्ताहरुले व्यक्तिगतपेसा फाइदा र भ्रष्टाचार समेतका लागि राजनीतिक पार्टीहरु वा राजनीतिको दुरुपयोग गर्ने गरेका छन् । त्यसैले जनताको पनि राजनीति वा राजनीतिक पार्टीमाथि वितृष्णा बढ्दैगएको पाइन्छ । संसारमा र नेपालमा पनि जुन महत्वपूर्ण राजनीतिक परिवर्तनहरु भएका छन्, ती कार्यहरु राजनीतिक पार्टीद्वारा नै हुनेगरेका छन् र त्यसका लागि राजनीतिक नेता वा कार्यकर्ताहरुको लामो योगदान वा इतिहास भएको आम रुपमा थाहा भएको कुरा हो । तर अहिले कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएका व्यक्तिहरु देशको राजनीतिमा हावी हुनथालेको देखिएको छ । यस प्रकारका व्यक्तिहरुमा कति जेनजी वा अमेरिकी साम्राज्यवादद्वारा परिचालित तत्वहरुको ठूलो संख्या छ । तिनीहरुमध्ये २३ गतेको जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रुप दिन उक्साउने वा २४ गतेको देशव्यापी तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरु पनि ठूलो संख्यामा सामेल भएको सम्भावनालाई अस्वीकारगर्न सकिन्न । यदि त्यस प्रकारका तत्वहरु नै सत्तामा जान्छन्भने त्यो अवस्थामा देशमा शान्ति, सुव्यवस्था, सुशासन वा विकासमा मद्दत पुग्ने होइन, देशमा गम्भीर प्रकारको अवस्था अराजकता वा दण्डहिनताको स्थिति नै उत्पन्न हुने बढी सम्भावना रहनेछ । युक्रेनमा कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएको जेनेस्की जस्तो व्यक्ति सत्तामा जाँदा त्यहाँ युद्ध र विनाशको स्थिति उत्पन्न भएको उदाहरण हाम्रा अगाडि छ । नेपालमा पनि त्यस प्रकारको स्थिति उत्पन्न हुने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । आखिरमा देश कुन दिशामा जान्छ ? त्यसका लागि निर्णयात्मक व्यक्ति जनता नै हुन्, तर जनताले सही भूमिका त्यो बेला नै खेल्न सक्दछन् जब उनीहरुमा सही राजनीतिक चेतना हुन्छ । तर जनताको चेतना एक वा अर्को प्रकारले विकृत हुन गयो भने लोकप्रियतावादी जनमत हावी हुन्छ र त्यसबाट लोकप्रियतावादी शक्तिहरुलाई नै मद्दत पुग्दछ । संसारमा धेरै देशमा त्यस्तो हुँदै आएको छ । त्यस प्रकारको लोकप्रियतावादी मतले नै जर्मनीमा हिटलर विजय भएको थियो र स्वयं जर्मनी र विश्वमा पनि त्यसको कति भयानक परिणाम भएको थियो ? विश्वको इतिहास त्यसको साक्षी छ । अहिले नेपालमा पनि त्यस प्रकारको लोकप्रियतावादी जनमत भएको हुनाले नै गै जेनजीहरु वा अमेरिकाद्वारा सञ्चालित तत्वहरु चुनावमा ठूलो परिमाणमा विजय हुन पुगेका छन् । त्यसको अन्तिम समाधान भनेको जनताको उच्च प्रकारको राजनीतिक चेतना नै हो । देशमा त्यस प्रकारको चेतना उठाउनका लागि हामीले योजनावद्ध र संगठित रुपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।