काठमाडौं,११ चैत । रास्वपाका सभापति रवि लामिछाने र नेता बालेन्द्र साहलाई पार्टीको संसदीय दलको नेता छान्न समेत सकस परेको थाहा भएको छ । आगामी शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको छनोट समेत हुन सकेको छैन । मन्त्रीका आक्यांक्षीहरुको भीड धेरै बढेको जानकारहरुको भनाई छ । दुवै नेताका निकटहरु मन्त्री बन्न दौडधुपमा लागेका देखिन्छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि बालेन र रविलाई मन्त्री छनोटमा सकस परेको हो । सभापति लामिछाने, नेता साह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता केही दिनदेखि मन्त्री छनोटका लागि आन्तरिक छलफलमा व्यस्त रहेको बताइएको छ ।

प्रचारमा आएअनुसार बालेन्द्रकातर्फबाट सहपाठीसमेत रहनुभएका स्ट्रक्चरल इन्जिनियर सुनील लम्सालले शक्तिशाली मन्त्रालय पाउने निश्चितजस्तै छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार भएदेखिनै निकट रहेर लगातार उहाँलाई सहयोगगर्दै आइरहनुभएका लम्साललाई गृह वा भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी रहेको बताइन्छ । रास्वपाले शहरी र भौतिक पूर्वाधार मन्त्रालयलाई एउटै बनाउने तयारी गरेको छ । बालेनको समूहबाट राजुनाथ पाण्डे, सस्मित पोखरेलको नामसमेत मन्त्रीका लागि चर्चामा रहेको छ । पोखरेललाई शिक्षा मन्त्रालयल दिने लगभग पक्कापक्की छ । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको नाम परिवर्तन गरेर शिक्षा, युवा तथा खेलकुद मन्त्रालय बनाउने तयारी गरेको छ ।

रास्वपाबाट अर्थमन्त्रीमा स्वार्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जा तथा जलस्रोतमा अमरेशकुमार सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमा विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको नाम चर्चामा छ । कानूनमन्त्रीमा सोविता गौतम, सञ्चारमा मनीष झा, भौतिक पूर्वाधारमा सुधन गुरुङ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा इन्दिरा रानाको नाम चर्चामा छ । सबैको नाम चर्चामा आए पनि १३ गतेमात्र सार्वजनिक हुने बताइन्छ । रास्वपा एक्लैले बहुमत प्राप्त गरेकाले संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त र सरकार गठन हुने भनिएको छ ।