काठमाडौं, २३ चैत । प्रहरीले केपी ओली र रमेश लेखक बिरुद्ध प्रमाण जुटाउन नसकेपछि सरकार अप्ठेरोमा परेको थाहा भएको छ । सर्वोच्च अदालतले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त मागगर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा आज सोमबार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले हिजो सुनुवाइ शुरु गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभएको थियो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानूनी थुनामा राखिएको उल्लेखगर्दै थुनामुक्तगर्न मागगर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउगर्नु र थुनामा राख्नु गैरकानूनी भएको उल्लेख गरिएको छ ।

यसैबीच जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई थप पाँचदिन थुनामा राखेर अनुसन्धानगर्न अनुमति दिएको छ । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धानगर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकीनै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेखगर्दै म्याद थपगर्न अनुमति दिएको बताइन्छ ।