काठमाडौं, २३ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताउनुभएको छ । सभामुख पदको कार्यभार सम्हालेपछि हिजो सिंहदरबारमा पत्रकारहरुसँग कुरागर्दै सभामुख अर्यालले विशेष अवस्थामा भएको प्रतिनिधिसभाको निर्वाचनबाट जनताले एउटा दललाई सरकारका सञ्चालनको नेतृत्व दिएको, केही दललाई प्रतिपक्षमा राखेको भएपनि नेपाली जनता नै बलियो प्रतिपक्ष रहेको सन्देश परिणामले दिएको बताउनुभएको हो । उहाँले सदनलाई प्रतिपक्षको थलोकारुपमा सुसञ्चालनका लागि आफूले अगुवाइगर्ने प्रणगर्दै संसदीय गरिमा र महत्वलाई कमी हुननदिने बताउनु भएको थियो । सभामुख अर्यालले सुशासन र सहज तथा सेवा प्रवाहलगायत मुलुकका लागि आवश्यक कानून निर्माणमा तीव्रता दिन संसदकातर्फबाट ढिलाइ नहुने विश्वास पनि दिलाउनुभएको थियो ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनाम राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ स्थानमा विजय हाशिलगरी सरकारको नेतृत्व गरिरहेको छ भने सत्ता पक्षकै प्रस्तावमा सभामुखमा अर्याल हिजो प्रतिनिधिसभाको बैठकबाट निर्विरोध निर्वाचित हुनुभएको हो । आज संसदका दुवै सदनको बैठक बस्दै छ । त्यसअघि सर्बदलीय बैठकको आयोजना गरिएको छ । संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस्भन्ने प्रस्ताव प्रस्तुतगर्ने कार्यसूची छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयकाअनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश–०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश– ०८२, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश–०८२ स्वीकृत गरियोसभन्ने प्रस्ताव पेशगर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपरान्ह १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष ०८०÷०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची तयगरिएको छ । त्यसैगगरी दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले सर्वदलीय बैठक डाकेको छ । बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ । संसद सञ्चालनमा दलहरुबीच सहमति जुटाउन र आगामी कार्यसूची तयगर्न सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकले संसदको कार्यसूचीलाई अन्तिमरुप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफलगर्ने बताइएको छ ।

बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेशभएका तीनवटा अध्यादेशहरुलाई स्वीकृतगर्ने प्रस्ताव लैजाने तयारी गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भएको छ । आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समिति गठनगर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।