काठमाडौं, १८ वैशाख । रौतहट निर्वाचन क्षेत्रनं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण चार वटा ठूलासहित आधा दर्जनभन्दा बढी पक्की पुल बन्नसकेका छैनन् । सो क्षेत्रका सांसद रवीन्द्र पटेलले अलपत्र पारिएको ती पुलको गत बुधबार निरीक्षणगर्दै निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेखगर्दै उहाँले अब यसको विस्तृतरुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताउनुभएको थियो । उहाँले पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा के गर्ने, निर्माण व्यवसायीलाई केगर्ने भन्नेबारे तत्काल निर्णय लिन सरकारको ध्यानाकर्षण गराउँछौँ भन्नुभएको थियो ।
सांसद पटेलले जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँभन्दै यसको चाँडै निकास हुनुपर्नेमा जोड दिनुभयो । निर्माण कम्पनीका ठेकेदारलाई पुलको निर्माण कार्य तत्काल सम्पन्नगर्न उहाँले निर्देशन पनि दिनुभएको छ । सांसद पटेलले विशेषगरी वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र जनधनको क्षतिलाई गम्भीर विषयका रुपमा उठाउँदै निर्माण कम्पनीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले अब कुनैपनि बहाना हुँदैन, परिणाम देखिनेगरी काम गर्नुपर्छ, थपिएको तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेमा ठेक्का रद्द गरेर निर्माण प्रक्रिया अगाडि बढाइने छ भन्नुभयो । दुवैतर्फ सडक ट्र्याक खुलेपनि ठेकेदार कम्पनीले पुल निर्माणको काम अलपत्र पार्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । गुजरा नगरपालिका–१ कोठियारमा रहेको कोठियार–ब्रम्हटोल, रंगपुरस्थित लमहा (गुजरा) खोला पुलको ठेक्का सम्झौता भएर ०७३ सालबाट निर्माण शुरुभएको थियो । सो पुलको प्रगति हालसम्म ५० प्रतिशतमात्रै रहेको छ । तीन स्पानको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भए पनि एक्स्पान्सन जोइन्ट, एप्रोच सडक र रेलिङको काम अझै बाँकी छ । यस्तै पिपरियास्थित तरही खोला पुलमा करिब ४५ प्रतिशतमात्र प्रगति भएको छ ।
सब–स्ट्रक्चर निर्माण सकिए पनि सुपर स्ट्रक्चरको काम शुरु हुनसकेको छैन । विश्व बैंकको सहयोगमा निर्माणाधीन हर्साहा चोक–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने नमाहा खोला पुलको प्रगति पनि हालसम्म ४५ प्रतिशतमै सीमित रहेको छ । सो पुलको निर्माण कार्य ०७३ सालमा शुरुभई ०८० असारमै सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो । त्यसैगरी बालचनपुर–जंगलसैया सडकअन्तर्गतको लमहा नदी पुलमा भने तुलनात्मक रुपमा सकारात्मक प्रगति देखिएको छ । सो पुलको निर्माण कार्य ०७८ मा शुरु भएको र हालसम्मको प्रगति भने ५३ प्रतिशत रहेको छ । सो पुल निर्माण कार्य ०८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।