काठमाडौं,१९ वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले नेपालका क्रान्तिकारी र जनपक्षीय शक्तिहरुलाई एकजुट भएर श्रमिकहरुको पक्षमा लड्न आग्रह गर्नुभएको छ । क्रान्तिकारी ट्रेड यूनियन महासंघले हिजो आयोजना गरेको १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको ¥यालीमा सहभागी भएपछि सम्बोधनगर्दै उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका कारण जनपक्षीय शक्ति एकजुट हुन जरुरी रहेको पनि बताउनु भएको थियो ।

माइतीघर मण्डलाबाट निकालिएको ¥याली ललितपुरस्थित कुपण्डोलस्थित पार्टी कार्यालयमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । सो कार्यक्रमको अध्यक्षता महासंघका संयोजक इश्वर तिमिल्सिना र सञ्चालन महासंघकी नेतृ कमला चन्दले गर्नुभएको थियो । सो समारोहलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पीवीएम तथा ९ नं. ब्यूरोका इन्चार्ज चिन्तामणि पौडेलले समेत सम्बोधन गर्नुभएको थियो ।