काठमाडौं,१९ वैशाख । सात समुन्द्र पारीको अमेरिका नेपालमा लगानी र व्यापार प्रवद्र्धनका लागि इच्छुक देखिएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशियाका लागि विशेषदूत सर्जियो गोरले नेपाल सरकारका परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि उक्त कुरा बाहिर आएको हो । उक्त उच्चस्तरीय भेटघाटहरुमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थपउचाइमा पु¥याउने र आर्थिक विकासका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको भनिएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल र विशेषदूत गोरबीच नेपाल–अमेरिका सम्बन्धका विविध आयामहरुलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा कुराकानी भएको सो मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई समयसापेक्ष सुदृढ बनाउँदै द्विपक्षीय लगानीलाई प्रोत्साहन गर्ने र व्यापार प्रवद्र्धनका नयाँ अवसरहरु पहिल्याउने विषयमा विशेष जोड दिइएको थियो । त्यसैगरी विशेषदूत गोरले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्नुभएको थियो । अर्थमन्त्रीको कार्यकक्षमा भएको उक्त भेटघाटमा मुख्यगरी नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध पक्षहरुमा छलफल केन्द्रित रहेको अर्थमन्त्रालयले जनाएको छ । त्यसक्रममा मन्त्री डा.वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था र सरकारले अघिसारेका विकासका प्राथमिकताकाबारेमा अमेरिकी विशेषदूतलाई अवगत गराउनुभएको भनिएको छ ।

जवाफमा विशेषदूत गोरले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरिका सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरुबीच नेपालमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाहरुको प्रभावकारिता र भविष्यमा हुनसक्ने थपलगानीका क्षेत्रकाबारेमा समेत सकारात्मक कुराकानी भएको बताइएको छ । गोरले नेपाली सेनाका प्रधान सेनापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट्ने कार्यतालिका रहेको छ । भारतका लागि अमेरिकी राजदूत समेत रहनुभएका गोर आज स्वदेश फर्कनु हुनेभएको छ ।