
काठमाडौं,१९ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी चलखेल अत्यधिक बढेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष केसीले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले सरकारले लोकतान्त्रिक अधिकारहरु सीमितगर्दै बिद्यार्थी संगठनहरुमात्र नभई मजदुर संगठनहरुलाईसमेत नियन्त्रण वा प्रतिबन्ध लगाउने नीति अपनाइरहेको बताउनुभएको थियो । उहाँले सरकार विदेशी प्रभावमा सञ्चालन भइरहेको बताउँदै विशेषगरी अमेरिकी युथ काउन्सिललाई मान्यता दिन खोजिएको विषय उठाउनु भएको थियो ।
उहाँले नेपालमा बाह्य शक्तिको प्रभाव बढ्दै गएको छ । यो राष्ट्रिय स्वाधीनता र जनताको हितविपरीत छ भन्नुभएको थियो । अध्यक्ष केसीले विश्वभरका मजदुर वर्गले आफ्नो वास्तविक मुक्तिका लागि संगठित भएर संघर्ष गर्नुपर्ने बताउनु भएको थियो । उहाँले आफ्नो सम्बोधनमा श्रमिक दिवसको ऐतिहासिक महत्व उल्लेखगर्दै यस दिवस केवल औपचारिक कार्यक्रमका लागि नभई श्रमिक वर्गको अधिकार, समानता र सम्मानको लागि संघर्षगर्ने प्रतिबद्धता व्यक्त गर्ने दिन हो भन्नुभएको थियो । अध्यक्ष केसीले संसारका मजदुरहरु अझै पनि शोषण र अन्यायको चक्रमा फसेका छन्, त्यसबाट मुक्त हुन संगठित संघर्ष अपरिहार्य छ ।
मजदुर, किसान र बिद्यार्थी वर्गबीचको एकता नै परिवर्तनको मुख्य आधार हो भन्नुभएको थियो । कार्यक्रममा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनानाथ आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, उद्योग वाणीज्य संघका ढुण्डिराज शर्मा, नेकपा (मसाल)का जिल्ला प्रबक्ता लालचन्द पन्त, लिलाबहादुर केसी लगायतले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।