काठमाडौं,२६ वैशाख । निजी विद्यालयद्वारा अवैध शुल्क लिनेक्रम नरोकिएको भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले जिल्लाभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरुलाई प्रचलित शिक्षा ऐन तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । एकाइ कार्यालयका प्रमुख लक्ष्मण गिरीकाअनुसार केही संस्थागत विद्यालयहरुले चर्को शुल्क असुलगर्ने, पुराना विद्यार्थीबाट समेत विभिन्न नाममा वार्षिक शुल्क लिने तथा नयाँ भर्नाका लागि परीक्षा शुल्कउठाउने गरेको गुनासो प्राप्तभएको छ ।
शुल्क लिएबापत विद्यालयहरुले कुनै पनि आधिकारीक रसिद नदिने गरेलगायतका विभिन्न माध्यमबाट कार्यालयमा उजुरी प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभएको छ । त्यस्ता गतिविधि प्रचलित शिक्षा ऐन, नियमावली, विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–०७८ विपरीत रहेको जनाउँदै उहाँले त्यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ । एकाइले सम्बन्धित स्थानीय तहलाईसमेत क्षेत्रभित्रका विद्यालयहरुको अनुगमन गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।