काठमाडौं,२६ वैशाख । पोखराको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चारलेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी ०७९ सालको असारमा सम्झौता भएको थियो । आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्यादथप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभएको छ । उहाँले तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरागर्ने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ भन्नुभयो । शहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताउनुभयो ।

उहाँकाअनुसार यसअघि थपिएको म्याद गत चैत १७ मा सकिएपछि तेस्रोपटक म्याद थप भएको हो । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरुगरेको थियो । त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सडक समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताउनुभयो । महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उहाँको भनाइ छ । यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडक निर्माणलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो । एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको थियो ।

फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने जनाइएको छ । सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सडकमा तीनवटा पुल पनि बन्नेछन् । महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई लिइएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा छ । रासस