
काठमाडौं,२६ वैशाख । परराष्ट्र मन्त्रालयले सीमा समस्या समाधानका लागि प्रयास जारी रहेको दाबि गरेको छ । मन्त्रालयद्वारा हिजो आयोजित एक कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारकातर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभएको थियो । उहाँले कूटनीतिक प्रयासलेनै समस्या समाधानगर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताउनु भएको थियो । उहाँले चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेकहुँदै जाने गरेको स्पष्ट धारणा यही गत २० गतेनै सार्वजनिक गरिएको बताउनु भएको थियो ।
उहाँले नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेकोभन्ने तथ्य १८१६ को सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको बताउनुभएको छ । उता छिमेकी भारतले पनि वार्ताका माध्यमबाट लिपुलेकको बिवाद समाधानगर्न सकिने भनेको छ । लिपुलेकको बिवादका कारण नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय विदेश सचिव बिक्रम मिश्रीको भ्रमण ततकालका लागि स्थगित गरिएको थाहा भएको छ ।