
काठमाडौं,१८ जेठ । जंगली जनावरबाट प्रभावितलाई राहत दिन माग भएको छ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जंगली जनावरको आतंकबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको हिजोको बैठकको आकस्मिक समयमा उहाँहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जंगली जनावर द्वन्द न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गर्नुभएको थियो । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले गत १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारीदिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी –६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारीदिँदै विपद्पीडित नागरिकलाई तत्काल राहतदिन आग्रह गर्नुभयो ।
एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली बँदेलका आतंकका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जंगली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गर्नुभयो । कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा झुटा मुद्धा लगाएर कतिपय युवालाई फसाइएको र उनीहरुका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको सुनाउँदै उहाँहरुका माग सम्बोधन गर्न माग गर्नुभएको थियो । रासस