काठमाडौं,१८ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीको प्रश्नको जवाफदिँदै ‘भिजिट भिसा’मा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्टगर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराउनुभयो ।

बजेटमार्फत मासिक ५० युनिटभन्दा धेरै बिद्युत खपतगर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्यअभिवृद्धि कर लगाउने व्यवस्था गरिएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले बिद्युत प्रणालीको क्षमता अभिवृद्धिगर्न सो कर लगाइएको बताउनु भएको थियो । उहाँले तुरुन्तै बिद्युतीय युगमा जानसकिने अवस्था छैन, देशका हरेक भान्छामा बिजुलीबाट खाना बनाउने हो भने, देशका सबै ट्रान्सफर्मर र सवस्टेसनको क्षमताले धान्दैन ।

त्यो क्षमता विकास गर्न पैसा चाहिन्छ, त्यसकैका लागि ५० युनिटभन्दा माथिको हकमा पाँच प्रतिशत भ्याट लगाइएको हो । उठेको पैसा देशभरका ट्रान्सर्फर, प्रशारणलाइन र सबस्टेसनको सुधारगर्न सकिन्छ भन्नुभएको छ । रासस