काठमाडौं,१८ जेठ । अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (छैटौँ), अनेरास्ववियू (क्रान्तिकारी), वैज्ञानिक समाजवादी बिद्यार्थी संगठन नेपाल, जनपक्षीय बिद्यार्थी यूनियन नेपाल, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) लगायतका १० वटा बिद्यार्थी संगठनका अध्यक्षहरुले संयुक्त प्रेस वक्तव्य जारीगर्दै प्रधानमन्त्रीको भारतपरस्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती, आत्मसमर्पणवादी तथा राष्ट्रहितविपरीत’ भएको आरोप लगाएका छन् । संयुक्त वक्तव्यमा लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने अभिव्यक्ति आउनु गम्भीर र निन्दनीय विषय भएको उल्लेख गरिएको छ ।
बिद्यार्थी संगठनहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमणअघि प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिलाई सामान्य भूल नभई राष्ट्रहितविपरीत राजनीतिक सोचको अभिव्यक्ति भएको दाबी गरेका छन् । उनीहरुले प्रधानमन्त्री शाहलाई विवादित अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिकरुपमा माफी माग्न तथा आफ्नो धारणा सच्याउन माग गरेका छन् । माग सम्बोधन नभए राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरुद्धका यस्ता प्रवृत्तिका विरुद्ध देशभरका बिद्यार्थी, युवा तथा देशभक्त नागरिकले सशक्त प्रतिरोधगर्ने चेतावनीसमेत दिएका छन् ।
