काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको हिजोको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्वपूर्ण संरचनागत सुधार रहेको बताउनुभएको थियो । उहाँले केही वस्तुमा करसम्बन्धी सुधार गरिएको छ, कर प्रणालीलाई क्रमशः सरल र पारदर्शी बनाउँदै लगिएको छ भन्नुभयो ।

बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएकोभन्ने आरोप अस्वीकार गर्नुभएको थियो । उहाँले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा बिद्युतीय सवारीसाधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको बताउनु भएको थियो । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताउनुभउको थियो ।

बैठकमा जवाफ दिनुहँुदै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परिवर्तन नभई कर्मचारीस्तरमा भएका सामान्य प्राविधिक त्रुटि सच्याउने काममात्र भएको बताउनुभइको थियो । उहाँले बिद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर संरचनाबारे बताउँदै ५० लाखसम्मका इभीलाई मध्यम वर्ग र युवाको पहुँचमा राख्ने उद्देश्यले रोड डेभलपमेन्ट शुल्कमा सहुलियत दिन खोजिएको बताउनुभएको थियो । उहाँले कुनै व्यापारीलाई गोप्य सूचना दिएर गाडी भन्सार पास गराइएकोभन्ने आरोप तथ्यहीन छ ।

यदि कसैसँग त्यस्तो प्रमाण छभने सार्वजनिक गर्नुस्, म जवाफ दिन तयार छु भन्नुभएको थियो । मन्त्री वाग्लले कर प्रशासन, भन्सार प्रणाली र राजस्व व्यवस्थापनमा देखिएका विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभएको थियो । रासस