काठमाडौं, २९ जेठ । पूर्ब माओवादी कमाण्डरलाई १० वर्ष कैद सजाय हुने भएको छ । सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका तत्कालीन माओवादी लडाकुका कमाण्डर गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीशहरु डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त मुद्दाको पुनरावलोकन सुनुवाइगर्दै यसअघि सर्वोच्चकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याएर सजाय बढाउने निर्णय गरेको हो । यसअघि सर्वोच्चको संयुक्त इजलासले बटालालाई सहुलीयतदिँदै तीन वर्षमात्रै कैद सजाय तोकेको थियो । तर, उक्त फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि गम्भीर सुनुवाइगर्दै पूर्ण इजलासले अघिल्लो निर्णय संशोधनगरी बटालाको कैद अवधि १० वर्ष कायम गरिदिएको छ ।
यो संवेदनशिल र लामो समयदेखि बहसमा रहेको घटनाको पृष्ठभूमि ०६४ सालबाट शुरु भएको थियो । तत्कालीन समयमा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरस्थित माओवादी सेनाको तेस्रो डिभिजनले कोटेश्वरमा माओवादी निकट मानिने व्यापारी रामहरि श्रेष्ठकै घरमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो। सोही कार्यालयबाट ०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र एउटा पेस्तोल चोरी भएपछि माओवादी वृत्तमा ठूलो खैलाबैला मच्चिएको थियो।
रकम र हतियार चोरीको आरोप श्रेष्ठमाथि लगाउँदै माओवादी कमाण्डरहरु गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलगायतको टोलीले ०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा पु¥याएका थिए । लडाकु शिविरभित्रै नियन्त्रणमा राखेर श्रेष्ठमाथि बर्बरतापूर्वक अत्यधिक कुटपिट र शारीरिक यातना दिइएको अनुसन्धानबाट खुलेको थियो । सोही यातनाका कारण शिविरभित्रै श्रेष्ठको दुःखद मृत्यु भएपछि घटनालाई लुकाउन उहाँको शवलाई वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेलापारिएको थियो ।