
काठमाडौं, २९ जेठ । रास्वपाका प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले अब प्रधानमन्त्री वालेन्द्र शाहका गतिबिधिको अनुगमनगर्ने हुनुभएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले डा. सिंहलाई उपरोक्त जिम्मेवारी दिएको हो । समितिको हिजो बसेको समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको कामकारवाही अनुगमनगर्ने जिम्मेवारी सांसद डा. सिंहलाई दिएको थियो ।
समिति सभापति हरि ढकालको अध्यक्षतामा बसेको बैठकले डा. सिंहको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । सिंहलाई सरकारले सञ्चालनगर्ने प्रमुख निकायहरुको कार्यसम्पादन अध्ययनगर्ने जिम्मेवारी दिइएको छ । उक्त जिम्मेवारी पाएकै दिन सिंहले प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको आगामी आब ०८३÷८४ को बजेट कार्यान्वयननै नहुने दाबी गर्नुभएको थियो । बजेटमाथिको छलफलमा भागलिँदै उहाँले सरकारको बजेटलाई फुलेको बेलुनको संज्ञा दिनुभएको छ ।
आफू दक्षिण एशियाली राजनीतिको बिद्यार्थीसमेत रहेको उल्लेखगर्दै उहाँले जीडीपीको ३२–३३ प्रतिशत बराबरको बजेट बनाउने अभ्यास विश्वका धेरै मुलुकमा नदेखिएको टिप्पणी गर्नुभएको थियो ।