
काठमाडौं, २९ जेठ । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा नेताहरुबीच द्वन्द जारीरहेको थाहाभएको छ । यसैक्रममा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी सञ्चालन शैलीप्रति गम्भीर असहमति जनाउँदै संयोजक दाहाललाई बिहीबार २४ पृष्ठ लामो सुझाव तथा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । खनालले पार्टीभित्र देखिएका वैचारिक तथा संगठनात्मक कमजोरी, कार्यकर्ता व्यवस्थापन र नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउँदै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म एकीकरण हुननसकेको उल्लेख गर्नुभएको छ ।
स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म संगठनात्मक समायोजन अपूर्ण रहेको तथा कार्यकर्ताबिच अन्योल कायम रहेको उनको भनाइ छ। पत्रमा खनालले पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवारी र भूमिका नदिइएको विषयलाई विशेषरुपमा उठाउनुभएको छ । लामो समयदेखि सक्रिय रहेका नेता तथा कार्यकर्ताले उचित जिम्मेवारी नपाउँदा निराशा बढेको र त्यसले पार्टीभित्र असन्तुष्टि सिर्जना गरेको उहाँको भनाइ छ । उहाँले सोही कारण पार्टी पंक्तिमा पलायनको प्रवृत्ति बढ्दैगएको र संगठन कमजोर बन्दैगएको चेतावनी समेत दिनुभएको छ । नेता खनालले वर्तमान राजनीतिक परिस्थितिअनुसार पार्टीले नयाँ कार्यदिशा, स्पष्ट रणनीति र प्रभावकारी संगठनात्मक योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको थाहा भएको छ ।
नेतृत्वले समयको मागअनुसार पहल नगरे पार्टीको जनाधार थप खुम्चिने र संगठनात्मक संकट गहिरिने जोखिम रहेको खनालको निष्कर्ष छ । खनालले बुझाएको २४ पृष्ठको पत्रमा पार्टी पुनर्गठन, कार्यकर्ता परिचालन, संगठन सुदृढीकरण, वैचारिक स्पष्टता तथा नेतृत्वको कार्यशैली सुधारसँग सम्बन्धित बिभिन्न सुझाव समेटिएका छन् ।