काठमाडौं, २९ जेठ । राष्ट्रियसभामा पनि प्रधानमन्त्रीको भारतपरस्त अभिव्यक्तिबारे प्रष्टपार्न सरकारको ध्यानाकर्षण गराउँदै बिपक्षीको बिरोध जारी छ । राष्ट्रियसभाको हिजोको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिका विषयमा प्रष्टपार्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा समय मागगर्दै उहाँले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेखगर्दै सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा गत १७ गते दिनुभएको अभिव्यक्तिले वैदेशिक हस्तक्षेप बढाउने भएकाले तत्काल यसबारेमा प्रष्ट पार्नुपर्ने माग गर्नुभएको थियो । एमालेका सांसद प्रेमप्रसाद दंगालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिले परराष्ट्र नीतिमा असर पर्नेभन्दै सीमानाको विषय राष्ट्रियतासँग जोडिएको हुनाले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभएको थियो ।
जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले बोल्नुभएको कुरा कानून बन्ने भएकाले गम्भीर भएर बोल्नुपर्ने बताउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गत १७ गतेदेखि अवरुद्ध संसद परराष्ट्रमन्त्रीबाट केही जवाफ आएपछि अघिबढेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्रीले सीमाकाबारेमा दिनुभएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।