काठमाडौं, २९ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेताहरुका बीचमा खिचातानी र झगडा बढेपछि आगामी असारमा हुने भनिएको महाधिवेशन अनिश्चित कालका लागि रोकिने संभावना देखिएको समाचारसूत्रहरुले उल्लेखगरेका छन् । आगामी केन्द्रिय महाधिवेशनअगाडि तयगरिएका जिल्ला र प्रदेश अधिवेशन प्रभावित भएका छन् । कतिपय जिल्लामा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहका नाममा नेताहरु विभाजित भएपछि पार्टी बिभाजनका संकेतहरु समेत देखिएका छन् ।

विवाद भएका मधेस प्रदेशका सात जिल्लासहित १४ जिल्लामा महाधिवेशनअघि अधिवेशन नहुने भएको छ । रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भनेको थियो । नेताहरुको विवाद उत्कर्षमा पुगेकै कारण मधेस प्रदेशका सात र बागमतीको सिन्धुपाल्चोक जिल्ला अधिवेशन स्थगित भएको छ । त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पाँच जिल्लाको अधिवेशन पनि हुनसकेको छैन ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ६३ जिल्लाकोमात्र अधिवेशन सम्पन्न भएको जानकारी दिनुभएको छ । रास्वपाका बिवाद बढ्दैगएमा कम्तिमा चारवटा समूहमा बिभाजित हुनसक्ने राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।