काठमाडौं, २९ जेठ । बिभिन्न उद्यागी र ब्यवसायीलाई थुन्नेक्रम बढ्दै गएको देखिएको छ । यसैक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि प्रतिष्ठित व्यापारी र व्यवसायीहरुविरुद्ध बिभिन्न अदालतमा ठगी, भ्रष्टाचार र बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएका छन् । दिपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतका व्यक्तिहरुलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दर्ता भएका हुन् । बीमा ऐन–०७९ को बर्खिलापगर्दै आर्थिक हिनामिना गरेको अभियोगमा व्यवसायी शेखर गोल्छा, दिपक भट्ट र सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको थाहा भएको छ । सो प्रकरणमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरु शरद ओझा र मदन दाहालसमेत तानिएको थाहाभएको छ ।
जिल्ला अदालत काठमाडौंमा दायर गरिएको उक्त मुद्दामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, भृकुटी ब्रोकिङ कम्पनीका सन्दिप चाचान अग्रवाल, सुधा कर्ण, राजिब ठाकुर र सुलभ अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
सोही प्रकरणमा दिपक भट्टविरुद्ध मात्र २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो कायम गरिएको छ । त्यसैगरी जिल्ला अदालत काठमाडौंमै धितोपत्रसम्बन्धी ऐन–०६३ को कसुरमा ८१ जनालाई प्रतिवादी बनाएर अर्को मुद्दा दर्ता गरिएको छ । उच्च अदालत पाटनमा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ । उक्त मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरिएको थाहाभएको छ ।